Friday, December 25, 2009

उपलब्धिविनाको कुम्भमेला




युरोपेली देश डेनमार्कको राजधानी कोपेनहेगनमा भएको विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलन विनाउपलब्धि समाप्त भएको छ । सम्मेलनमा सरकारी र गैरसरकारी क्षेत्रबाट ६ सयभन्दा बढी नेपालीको विशाल संख्यामा उपस्थिति रहेको थियो । त्यस्तो विशाल सहभागिता हेर्दा लाग्छ— कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भएको होइन, कुम्भमेला नै भएको हो । यति विशाल सहभागिताका तुलनामा नेपालका लागि सम्मेलन उपलब्धिमा शून्य नै रह्यो, विश्वव्यापी अपेक्षाका तुलनामा ठोस उपलब्धि केही नभएझैँ । 

हुन त, बेलायती वातावरणमन्त्रीले 'गार्जियन' पत्रिकामा चीनद्वारा भिटो प्रयोग गरिएकाले कोपनहेगन-सम्मेलन असफल भएको ठोकुवा गर्दै लेखै लेखे । तर, उक्त ठोकुवाको खण्डन गर्दै चीनले सो आरोप निराधार र राजनीति-प्रेरित रहेको दाबी गर्‍यो । चिनियाँ प्रधानमन्त्री बेन जियाबाओको भनाइ छ— अमेरिका विश्वकै धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकाले उसले नै बढी हरितगृह ग्यास कटौती गर्नुपर्छ । हुन त, विकसित देशहरूको रबैया देखेर भारत पनि असन्तुष्ट नै थियो । अपि|mकी मुलुकहरूले त वार्ता नै बहिष्कार गरे । तैपनि, अमेरिकाको अगुवाइमा एघारबुँदे सहमति भएको छ । क-कसले कति पैसा दिने भनेर तोकेरै नभनिए पनि वनजंगल संरक्षण गर्न जापान, बेलायत, प|mान्स, अस्ट्रेलिया र नर्वेले तीन वर्षमा तीन अर्ब डलर सहयोगको घोषणा गर्नुलाई पनि केही सफलता नै मान्न सकिन्छ ।
हुन त, विश्व्यापी वातावरण विनाशका सन्दर्भमा नेपाल धेरै नै कम प्रदूषक देश हो, विकसित देशका तुलनामा । नेपालले केवल ०.०२५ प्रतिशत मात्रै वातावरण विनाश गर्ने हरितगृह ग्यास उत्पादन गर्छ । विकसित देश र ती देशका जनताले नै वातावरणलाई प्रत्यक्ष प्रभाव पार्ने हरितगृह ग्यासको धेरैभन्दा धेरै उत्पादन गर्छन् । फलतः विश्वमा बर्सेनि ०.६ प्रतिशतले तापक्रम बढिरहेको छ ।
सन् २००५ मा गरिएको एक अध्ययनअनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३७९. ३ प्रतिशत औसत मात्रा पुगेको छ । यसरी सन् १९५९ देखि गरिएको मापनका आधारमा हेर्दा यो तथ्यांक सुरुको भन्दा २० प्रतिशतले बढी हो । क्योटो अभिसन्धिका क्रममा सन् २०१२ सम्ममा विकसित खासगरी औद्योगिक देशले सन् १९९० को भन्दा आठ प्रतिशतले हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्ने प्रण गरेका थिए, जुन पूरा भएको छैन ।
अमेरिकास्थित नासाले गरेको अनुसन्धानअनुसार हरितगृह प्रभावका कारण पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढ्ने क्रममा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष भनेको सन् २००५ हो, त्यसपछि १९९८, २००२, २००३ र, २००४ क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ तातो वर्ष हुन् । एक लाख ६० हजार वर्षमा भन्दा गत ३० वर्षमा ३१ प्रतिशतभन्दा बढी कार्बन डाइअक्साइड उत्पादन भएको छ । औद्योगिक क्रान्तिपछि वायुमण्डलमा कार्बन डाइअक्साइड धेरै नै बढेको छ । अतः अब त मान्छेले चाहेर पनि हरितगृह ग्यासको प्रभावलाई पूर्णरूपमा नियन्त्रण गर्न सकिने स्थिति छैन । र पनि, जलवायु परिवर्तनमाथि विश्वले नै ध्यान दिन थालेकोे छ, यो सकारात्मक पक्ष हो । यतिखेरको प्रश्न हो— अब कसरी कमभन्दा कम हरितगृह ग्यास उत्सर्जन गर्ने ?
विश्वको कम पदूषक नेपाल प्राकृतिक रूपमा संसारका सुन्दरतम देशमध्ये एक हो । नेपाल सुन्दर मात्रै होइन, जैविक विविधता, भौगोलिक विविधता, वन्यजन्तु, हावापानी, मठ-मन्दिर, खोलानाला, जातजाति, भाषाभाषी र धर्मका हिसाबले पनि संसारकै उत्कृष्ट संगमस्थल हो । आफ्नो सुन्दरता बचाउन र संगमस्थललाई थेग्न नेपालले वातावरणीय प्रदूषण र यसले पारिरहेको दुष्प्रभावका बारेमा वेलैमा सचेतता अपनाउनुपर्ने देखिन्छ । नेपालले मात्रै होइन, सबै देशले सोच्नुपर्छ— वातावरणीय समस्यालाई कसरी प्रभावकारी ढंगले समाधान गर्ने ? वातावरणीय प्रदूषण र यसले पारिरहेको विश्वव्यापी दुष्प्रभावलाई कसरी कम गर्ने ?

No comments:

Post a Comment