Sunday, October 18, 2009

काठको कम्प्युटर

सुमन लुइटेल
म्याग्दी २०६४
काठको कम्प्युटर १ सुन्दै अनौठो लाग्छ । सूचना र प्रविधिको द्रुततर विकास भइरहेको बेलामा काठका कम्प्युटर पनि प्रयोगमा छन भन्दा चाहि जो कोहिलाई पत्याउनै मुस्किल पर्ला । यहा बर्णन गर्न खोजिएका काठका कम्प्युटर आविष्कारकले शुरुका बर्षमा निर्माण गरेका भने होइनन् । न त विदेशका कुनै पुरातात्विक संग्राहलयमा राखिएका कम्प्युटरको बर्णन नै गर्न खोजिएको हो । २१ औ शताब्दिकै प्रारम्भमा निर्माण गरिएका कम्प्युटर हुन यी । अझ रमाइलो कुरा त यी कम्प्युटर नेपालकै दुर्गम गाउको विद्यालयमा चलन चल्तिमा छन् । म्याग्दी जिल्लाको राम्चे गाविसमा अवस्थित हिमााचल उच्च माध्यामिक विद्यालयमा यस्ता काठका कम्प्युटर प्रयोगमा छन् ।
सन् २००० देखि यहाँ वायरलेस नेट नामक संस्थाले इमेल इन्टरनेट सेवा संाचालन गरेपछि यी काठका कम्प्युटर चलन चल्तिमा आएका हुन् । बिद्यालयमा बर्षेनी विदेशबाट दर्जनौको संख्यामा स्वयंमसेवि शिक्षकहरु आउछन । उनीहरुले विद्यालयमा आउदा कम्प्युटरको मदरबोर्ड हार्डडिस्क लगायतका विभिन्न उपकरणहरु उपाहार स्वरुप ल्याइदिने गरेका छन । विद्यालयका शिक्षक कृष्ण पुनका अनुसार बोक्न समस्या हुने भएकाले सिपियू बक्स भने कसैले पनि ल्याउदैनन । यसरी स्वयंमसेविहरुले उपहार स्वरुप ल्याइदिने हार्डवेयर जडान गर्नको लागि स्थानीयस्तरमै काठका सिपियू बनाउने गरिएको छ ।
शिक्षक पुन भन्छन- विद्यालयमा अहिले एक दर्जन भन्दा बढि कम्प्युटर छन् ति मध्यॆ हामिसंँग अहिले ८ वटा काठका कम्प्युटर छन् । विभिन्न संघसस्थाले दिएका मनिटरमा काठको सिपियू जोडेर कम्प्युटर चलाउदै आएका छौं । यहाँ मात्रै होइन राम्चे हिस्तान र र्नाच्याङ गाउँमा समेत काठका कम्प्युटर प्रयोगमा ल्याइएका छन् ।
शिक्षक पुनका अनुसार एउटा काठको सिपियु बनाउन करिव ५ सय जति खर्च लाग्छ । गाउकै स्थानीय सिर्कमिले एक दिनमै सिपियु बनाउन सक्छन । कम्प्युटरका आवश्यक पार्टहरुलाई जडान गर्न मिल्ने गरि सिपियुको आकार र डिजाइन भने पुन आफैले गर्छन ।
विद्यालयमा अझै पनि करिव कम्प्युटरको लागि आवश्यक हर्डवेयरका सामान छन् । सिपियु त काठकै पनि बनाइन्थ्यो होला तर मनिटर नभएकोले त्यत्तिकै थन्क्याएर राखेका छौ-शिक्षक पुनले भने ।
माध्यामिक र उच्च माध्यामिक तहका सबै विधार्थिलाई निशुल्क कम्प्युटर शिक्षा समेत दिने गरिएको विद्यालयका प्रधानध्यापक रमण पुन बताउछन् । उनी भन्छन्- अन्य कक्षाका विधार्थिले पनि निशुल्क इमेल इन्टरनेट चलाउन सक्छन ।
म्याग्दी सदरमुकाम बेनिबाट करिव एक दिनको पैदलयात्रा पछि यो गाउमा पुगिन्छ । यहा बायरलेस नेट नामक संस्थाले अहिले नांगि सहित म्याग्दी र कास्कीका ८ वटा गाउमा निशुल्क इमेल इन्टरनेट सेवा संचालन गर्दै आइरहेको छ । यसका लागि समाजसेवी महावीर पुनले गरीवि निवारण कोष लगायत विभिन्न संघ सस्थाबाट सहयोग उपलब्ध गराउदै आएका छन्। । वायरलेसवाट ग्रामिण क्षेत्रमा यसरी इमेल इन्टरनेट सेवा संचालन गरिएको नेपालमै सम्भवत यो नै पहिलो हो ।


No comments:

Post a Comment