Sunday, October 18, 2009

चाडपर्वले छुदैन बेपत्ता नागरिकका परिवारलाई

सुमन लुइटेल
२०६४ असोज डिल्लीबजार, काठमाण्डौ
"आफना मुटुका टुक्रा नै छैनन् कसरी चाडपर्व मनाउनु हामीलाई पनि त रहर हुन्छ तर के गर्नु रमाइलो गरेर बस्न मनले मान्दैन । त्यसैले हामीलाई चाडपर्ब आएपनि नआए पनि यसको कुनै महत्व छैन ।"
अध्ययनका लागि काठमाण्डौ आएका २ छोरा विगत ४ बर्षदेखि बेपत्ता छन् । पढेर ठूलो मान्छे बन्ला र बुढेशकालमा साहारा बन्ला भनेका छोराहरुको अवस्था नै बेखवर भएपछि झापाको दमक नगरपालिका १ की चन्द्रकुमारी बस्नेत र उनका श्रीमान भीमबहादुरको मन निकै कुढिएको छ । हिन्दुहरुको महान् पर्व दशै नजिकिदो छ । घर घरमा यसको ब्यापक तयारी पनि शुरु हुन थालिसकेको छ । तर छोराहरुको अवस्था अज्ञात भएपछि बस्नेत परिवारमा दशैको कुनै रौनक छैन । ४ बर्ष भयो उनीहरुले दशै तिहार लगायतका चाड पर्ब नमनाएको । चन्द्रकुमारी भन्छिन्-ु४ बर्ष भो हाम्रा घरमा जमरा उमि्रएका छैनन् । राता अक्षता निधारमा परेका छैनन् । तिहारमा दिदी बहिनीले रोपेका फुल ओइलिएर गएको छ । आफना मुटुका टुक्रा नै छैनन् कसरी चाडपर्व मनाउनु हामीलाई पनि त रहर हुन्छ तर के गर्नु रमाइलो गरेर बस्न मनले मान्दैन । त्यसैले हामीलाई चाडपर्ब आएपनि नआए पनि यसको कुनै महत्व छैन ।
बस्नेत परिवारका २ छोरा पुष्पराज र धीरेन्द्रलाई २०६० सालमा सुरक्षाकर्मिले काठमाण्डौको चावहिल र कलंकीबाट पक्राउ गरेको थियो । उनीहरु दुवै जना नेकपा माओवादीका भातृ संगठनमा आबद्ध थिए । पक्राउ परेका छोराहरु बेखवर बनेपछि बस्नेत परिवारले उनीहरुको खोजीका लागि धेरै पटक धेरै ठाउँमा धाए । तर पनि उनीहरुको सुनुवाई कतै पनि भएन । अहिलेसम्म पुष्पराज र धीरेन्द्रको अवस्था अज्ञात छ ।
चन्द्रकुमारी भन्छिन्-ुहामीले हाम्रा बेपत्ता सदस्यको अवस्था कस्तो छ भनेर जान्न पाउनु पर्छ । लोकतन्त्र पछि बनेको सरकारले समेत हाम्रो कुरा सुनुवाई गरेन । अव हामीले कसबाट आशा गर्ने
चितवनकी सर्मिला त्रिपाठिको अवस्था पनि बस्नेत परिवारको भन्दा भिन्न छैन । २०६० असोज ९ गते सुरक्षाकर्मिले उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई पक्रेर लगेको थियो । अहिलेसम्म उनको बास्तविक अवस्था पत्ता लागेको छैन । उनी सकुशल छन् या छैनन यसको कुनै टुंगो नै छैन । परिवारका मुली नै गुमाउनु परेपछि सर्मिलालाई पनि चाडपर्वले कुनै असर गर्दैन । राज्यद्धारा बेपत्ता परिवारका सदस्यको बास्तविक अवस्था बाहिर नआउदा उनको परिवारले सदैव मानसिक पिडा समेत खेप्नु परिरहेको छ । सर्मिला भन्छिन्-ुखाना पस्केर खान बस्यो हराएका मानिस आइपुग्ाि हाल्छन कि भन्ने आसा लाग्छ । कुनै कार्यक्रममा गयो आफना मान्छेलाई कतै देखि हालिन्छ कि भन्ने तर्कना हुन्छ । घरमा केटाकेटिले पनि वावा खोइ भनेर सोधिरहन्छ उनीहरुलाई के जवाफ दिने चाडपर्व आउदा पनि कुनै रमाइलो हुदैन ।
ओखलढुंगाको कुइभिर गाविसका शिक्षक चक्रबहादुर कटुवालको अवस्थ्ा पनि अज्ञात छ । विसं२०५८ साल मंसिर २८ गते संकटकालको समयमा सुरक्षाकर्मिले उनलाई सदरमुकामस्थित शिक्षा कार्यलय हाता भित्रैवाट पक्राउ गरि लगेको थियो । त्यसबेला देखि अहिलेसम्म उनको स्थिति पनि सार्वजनीक हुन सकेको छैन । कटुवालको गिरफतारी पछि उनको परिवार चरम आर्थिक अभावमा छ । आफन्त विनाको चाडपर्वले कटुवाल परिवारमा समेत कुनै महत्व पाउदैन । उनका छोरा शम्भु भन्छन्-बुबा पक्राउ परेपछि घर चलाउन निकै समस्या छ । यो सँगै परिवारमा मानसिक पिडा पनि उत्तिकै छ ।
फरक राजनीतिक आस्था राखेकै कारण राज्यद्धारा विभिन्न समयमा पक्राउ गरि बेपत्ता पारिएका नागरिकहरुको संख्या उल्लेख्य छ । सरकारले अहिले सम्म उनीहरुको वास्तविक अवस्था सार्वजनिक गर्न सकेको छैन । बेपत्ता नागरिकका परिवारहरुले संगठित भएर उनीहरुको अवस्था सार्वजनिक गर्न सरकार समक्ष माग गरिरहेका छन् । यसका लागि उनीहरुले २०५६ सालमा बेपत्ता परिवार समाजको स्थापना गरेका छन् । समाजको सकि्रयतामा बेलाबेलामा विभिन्न विरोधका कार्यक्रम पनि संाचालन भइरहेका छन् । तर पनि अहिलेसम्म राज्य यस विषयमा मौन छ । समाजको तथ्यांक अनुसार राज्यले पक्राउ गरि बेपत्ता बनाएका १ हजार १ सय ७१ जना ब्यक्तिका परिवार अहिलेसम्म सम्पर्कमा आएका छन । यसबाहेक ३ देखि ५ हजारको संख्यामा मानिसहरु राज्यले बेपत्ता बनाएको पिडितहरुको दाबि छ । उनीहरुको एउटै भनाई छ जे जस्तो हालतमा छन् राज्यले बेपत्ता नागरिकहरुको अवस्था सार्वजनीक गरोस र दोषिलाई कारबाहि गरोस् । तवमात्र दशै र तिहार लगायतका चाडपर्व वास्तवमै सबैका लागि खुसि र समृद्धिको पर्व बन्ने छ ।

1 comment: